काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने पाँच दशरथ रङ्गशालामा हुनेछ ।
आजको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दुई खेलाडी परिवर्तन गरेका छन् । डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको ठाउँमा मनिष डाँगी र दर्शन गुरुङले खेल्ने छन् ।
यसअघि गएको शनिवार भएको पहिलो खेलमा नेपालले मरिससलाई १–० ले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।
लगातार दोस्रो जित निकाल्न सके फिफा वरीयतामा नेपालको स्थान सुधार हुने प्रशिक्षक अलमुताइरीको विश्वास छ । मरिसस पनि यो खेलमा जित निकाल्दै फर्कने योजनामा छ । कोरोना सङ्क्रमणका कारण पहिलो खेलमा मरिससका मुख्य चार खेलाडीले खेल्न पाएका थिएनन् । तर आज उनीहरुले खेल्ने बताइएको छ ।