काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिमा भर्खरै सम्पन्न १२ औँ राष्ट्रिय जनगणनामा सङ्कलन भएको तथ्याङ्कको आधिकारिकतामाथि प्रश्न उठाइएको छ ।
समितिको आजको बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनगणना सङ्कलनका लागि लिइएको विधि र सिद्धान्त नै ठीक नभएको प्रतिक्रिया दिए । उनले भने, ‘प्रश्न गुणस्तरीय भए उत्तर पनि गुणस्तरीय आउँछ, अनुसन्धान विधिमा क्वालिटी प्रश्नले क्वालिटीकै उत्तर खोज्छ, प्रश्न कस्तो बनाइन्छ त्यसअनुसारको उत्तरको पूर्वानुमान गर्न सकिन्छ ।’
कृषि उत्पादनमा कर नलाग्ने भएकाले धेरैले आयस्रोत कृषक देखाउने गरेको घटना सुनाउँदै पाण्डेले २० कुखुरा पाल्नेलाई कृषक मान्न सकिन्छ र भनी प्रश्न गरे । पछिल्लो जनगणनाले ६८ प्रतिशत कृषिमा आश्रित रहेको देखाएको छ त्यो नै गलत भएको टिप्पणी गर्दै उनले १० वर्षयता जमिनको बिक्री खेतीका लागि नभई मुनाफा र घडेरी कारोबारका लागि हुँदैआएको बताए ।