काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिनापछि निजी सचिवालयलाई पूर्णता दिने लागेका छन् । प्रधानमन्त्री देउवाले हाल स्वकीय सचिवमा भानु देउवा, कानुनतर्फ केशवराज जोशी, जनसम्पर्कतर्फ जनार्दन नेपाललाई औपचारिक रूपमा नियुक्त गरेका छन् ।
सोमबार मात्र प्रधानमन्त्री देउवाको सूचना, प्रविधि एवं सञ्चार विज्ञमा इन्जिनियर दिपेश विष्ट नियुक्त भएका छन् । यस्तै, प्रधानमन्त्री देउवाको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेल नियुक्त भएका छन् । देउवाले मंगलबार नुवाकोटका गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नियुक्त गरेका हुन्।
अझै प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार नियुक्त हुन बाँकी छ । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको मिति तोकेपनि निर्वाचन आचारसंहिता लाग्ने भएकाले निजी सचिवालयलाई पूर्णता दिन लागेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा प्रकाशशरण महत र रमेश लेखकको चर्चा छ । तर, कांग्रेस उच्च स्रोतले लेखकलाई पार्टी प्रवक्ता बनाउने तयारी भएकाले डा महत नै प्रमुख राजनीतिक सल्लाहकार नियुक्त हुने छन् ।
परराष्ट्र सल्लाहकारमा डादिनेश भट्टराई नै पुनः दोहोरिने देखिन्छ । पत्रकार गेजा शर्मा वाग्लेले पनि परराष्ट्र सल्लाहकार बन्ने सम्भावना छ ।