काठमाडौं । गृहमन्त्री बालकृुष्ण खाँण र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच एमसीसीबारे छलफल भएको छ । पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनबीच नै मतभेद भइरहेका बेला बुधबार गृहमन्त्री खाँण र अध्यक्ष नेपालबीच यसबारे छलफल भएको हो ।
अध्यक्ष नेपाल निवास कोटेश्वर भएको भेटमा उनीहरुबीच एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्दा सत्ता गठबन्धनबीच विवाद आउन सक्नेबारे छलफल भएको बताइएको छ ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा रहेका छन् । तर, संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्रैबाट सहयोग पाएका छैनन् ।
यसअघि गठबन्धनका शीर्ष तहका नेताबीच पनि छलफल भइसकेको छ । उक्त छलफलमा एमसीसी संसदबाट संकल्प प्रस्तावसहित पारित गर्ने समझदारी भएपनि माओवादी केन्द्र र एकीकृत समाजदीभित्र विरोध छ । माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा अडानमा छन् ।
यथास्थितिमै एमसीसी सम्झौता अनुमोदन गरिए गठबन्धनबीच तिक्तता आउने अध्यक्ष नेपालको बुझाइ छ । तर, प्रधानमन्त्री देउवाले फेब्रुअरी २८ भित्र संसदबाट जसरी पनि एमसीसी पारित गर्नुपर्ने अडानमा छन् । यसबारे प्रधानमन्त्रीले सार्वजनिक अभिव्यक्ति समेत दिइसकेका छन् ।
आइतबार मात्र उनले ‘एमसीसी सम्झौता अनुमोदन नगरे फिर्ता जाने र गठबन्धन टुट्ने’ बताएका थिए । त्यसैले पनि प्रधानमन्त्री देउवा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा स्पष्ट देखिएका छन् । तर, कांग्रेसले एमसीसीबारे आधिकारिक धारणा पनि सार्वजनिक गरेको छैन ।
यसैबेला कांग्रेस नेता तथा गृहमन्त्री खाँण र अध्यक्ष नेपालबीच एमसीसीबारे छलफल गरेका हुन् । सो भेटमा स्थानीय चुनावको मिति जेठ ४ मा तोकिएको विषयमा समेत छलफल भएको बताइएको छ । गठबन्धनमा सहमति नभइ जेठ ४ को मिति तोक्न लागिएकोमा समेत नेपाल असन्तुष्ट छन् ।