- नन्दा थापा
बाजुरा । गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले नेपालको जनगणना २०७८ मा गाउँपालिकाको जनगणना सत्य नभएको बताएकी छन् । आज पत्रकार सम्मेलन गर्दै उनले गाउँपालिकाको जनगणनाको तथ्याङ्क सत प्रतिशत गलत भएको बताइन् । गाउँपालिकाको त्रुटिपूर्ण जनसंख्याको विवरण केन्द्रीय तथ्याङ्क विभागले तत्काल सच्याउनु पर्ने उनको माग छ ।
उनले भनिन्, ‘कुनैपनि देश भुगोलको समग्र विकासमा जनसंख्याले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ, स्वास्थ्य, खानेपानी यातायात, स्वदेशी बैदेशिक रोजगारी, मनोरोत्तजन तथा संरचना साधनको प्रयोग तथा पहुँचको स्थितिमा आएको परिवर्तन विकासको विश्लेष्ण र आगामी दश वर्षको प्रक्षेपण गर्ने राज्य तथा सरकारका लागि महत्वपूर्ण हुन्छ । त्यसैले यसलाई तत्काल सच्याउनु पर्छ ।’
२०६८को जनगणनामा गौमुल गाउँपालिकाको जम्मा जनसंख्या ८ हजार ५ सय १५ रहेको थियो । स्थानीय तहको निर्वाचन २०७४ पश्चात स्थानीय सरकारको गठन तथा स्थानीय सरकार संचालन ऐन बमोजिम तथा स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रही गाउँपालिका पाश्र्वचित्र निर्माणका क्रममा २०७७ मा संकलन गरिएको तथ्याङ्कलाई हेर्दा १० हजार ५ सय ९४ जनसंख्या रहेको थापाको दावी छ
‘मेरो गणना मेरो सहभागिता’ नाराका साथमा सरकारले गत कात्तिक १५ देखि २०७८ मंसिर ९ गतेसम्म तथ्याङ्क संकलन गरि सार्वजनिक भएको गाउँपालिकाको प्रारम्भिक नतिजा गलत भएको उपाध्यक्ष थापाले बताइन् ।
‘तथ्याङ्क समाजको ऐना, विकासको राजमार्ग समृद्धिको आधार हो, सार्वजनिक भएको प्रारम्भिक नतिजा अनुसार गौमुल गाउँपालिकाको जम्मा जनसंख्या ८ हजार ७ सय ६५ रहेको छ यस तथ्याङ्कबाट सार्वजनिक गरिएको जनसंख्या सत प्रतिशत त्रुटिपूर्ण रहेको गाउँपालिकाको निश्कर्ष छ,’ उनले भनिन् ।
थापाले थपिन्, ‘१० वर्षमा यस पालिकामा जम्मा २५० जना मात्र जनसंख्या बढेको देखिन्छ, यस्ता गलत तथ्यांकले राज्यका समग्र प्रणलीमा नकारात्मक असर पर्ने देखिन्छ, यस पालिकाका मानिसहरु ज्यालामजदुरी गर्न करिब ३ देखि ५ महिना सम्मका लागि छिमेकी मुलूक भारतमा रहने गर्दछन्, समग्र जनगणनाको प्रारम्भिक अध्ययन गर्दा त्रुटिपूर्ण रहेको छ ।’
नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभाग तथा सम्बन्धित निकायलार्ई समेत गाउँपालिकाले ध्यानाकर्षण गराइसकेको बताउँदै उपाध्यक्ष थापाले तत्काल त्रुटिपूर्ण जनसंख्या विवरणलाई सम्बन्धित निकायले नसच्याए अन्य गतिविधिबाट अगाडी बढ्ने जानकारी दिइन् ।