काठमाडौं । भारत १९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियालाई ९६ रनको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो । जितका लागि भारतले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४१ ओभर ५ बलमा १ सय ९४ रनमा समेटियो ।
अस्ट्रेलियाका लचलान शाले सर्वाधिक ५१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । भारतका विक्की ओस्टलले तीन, निशान्त सिन्धु र रवि कुमारले दुईरदुई विकेट लिए । त्यसअघि वेस्ट इन्डिजको कुलिज क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।
भारतका कप्तान यश धुल र शेख राशिदले उत्कृष्ट पारी खेले । यश धुलले १ सय १० रनको शतकीय पारी खेले । त्यस्तै शेख राशिदले ९४ रन जोडे । अस्ट्रेलिया ज्याक निस्वेट र विलियम साल्जम्यानले दुईरदुई विकेट लिए। फाइनलमा भारतले इङ्गल्यान्डसँग खेल्नेछ । अहिलेसम्म भारतले सर्वाधिक ४ पटक र अस्ट्रेलियाले तीन पटक १९ वर्षमुनिको विश्व कप जितेका छन् ।