काठमाडौं । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले गठबन्धन सरकारले सबै धर्मालम्बी समुदायको चाडपर्वमा विदाको व्यवस्था गरेर सम्मान र समभाव बढाएको बताएकी छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका–३, ईक्चुङस्थित टासी हिृक्सुङ बौद्ध गुम्बामा आयोजित पुजापाठ, शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले तामाङ जातिको नयाँ वर्ष ल्होसारमा विदा दिएर सरकारले सकरात्मक कार्य गरेको बताइन् । उनले भनिन्, ‘हिजो दशैंमा १५ दिन विदा दिन्थ्यो, अहिले ५ दिन विदा छ । सबै धर्मालम्बीलाई चाडपर्वमा विदा दिनु न्याय पनि हो ।’
तामाङ, चेपाङलगायतका जातिले आ–आफ्नो नयाँ बर्ष र विशेष पर्वमा विदाको माग गर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै उनले संघीय सरकारको मन्त्रिपरिषद बैठकले तामाङ समुदायलाई ल्होसारमा र चेपाङलाई न्वागी पर्वमा बिदा दिने निर्णय गरेको जानकारी दिइन् ।
‘हिजो देश हिन्दुराष्ट्र हुँदा सबैले जानीनजानी संस्कृत बिषय अनिवार्य पढ्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘नेपाललाई हामीले धर्मनिरपेक्ष बनाएपछि संस्कृत अनिबार्य पढ्नुपर्ने बाध्यता हटाएर स्थानीय भाषामा पढ्न पाउने व्यवस्था गरेका छौँ ।’
कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रितिलाल रूम्बा, टासी हिृक्सुङ बौद्ध गुम्बा साँस्कृतिक कलाकार समुहकी सदस्य सम्झना पाख्रिनलगायतले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा टासी हिृक्सुङ बौद्ध गुम्बाका प्रमुख लामा विरसिं लामा, प्रहरी सहायक निरिक्षक खेमबहादुर कार्की, समाजसेवीहरु बद्री स्याङ्तान, अमृत बल, पदम दोङ, भरतसिं पाख्रिन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।