काठमाडौं । १८ वर्षको इतिहासमै पहिलो पटक सामाजिक सञ्जाल फेसबुकको सक्रिय प्रयोगकर्ता ‘डेली एक्टिभ युजर्स’ घटेका छन् । प्यारेन्ट कम्पनी मेटा नेटवर्कका अनुसार सन् २०२१ अन्तिम तीन महिनामा फेसबुकको डेली एक्टिभ युजर्स १ अर्ब ९२ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने फेसबुकको डेली एक्टिभ युजर्स १ अर्ब ९३ करोड थियो ।
टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वी कम्पनीका कारण आम्दानी पनि घट्न सक्ने मेटाले आशंका व्यक्त गरेको छ । विज्ञापनदाताले विज्ञापनमा खर्च कटौती गरेका कारण पनि मेटाले आम्दानी गुम्न सक्ने बताएको हो । मेटाको सेयरमा पनि २० प्रतिशतभन्दा बढी गिरावट आएको छ ।
बीबीसीका अनुसार सेयर मूल्यमा आएको गिरावटका कारण मेटाले २ सय अर्ब अमेरिकी डलर घाटा बेहोरेको छ । मेटासँगै ट्विटर, स्न्याप, पिन्टेरेस्टजस्ता सोसल मिडिया प्लेटफर्मको सेयर पनि घटेको छ ।
मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले युवा प्रयोगकर्ता प्रतिद्वन्द्वी कम्पनीतर्फ लागेकाले पनि आफ्नो कम्पनीले आम्दानी गुमाइरहेको बताएका छन् । गुगलपछि मेटा विज्ञापनका लागि विश्वकै सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म हो । तर एप्पलले आफ्नो अपरेटिङ सिस्टममा केही परिवर्तन ल्याएपछि मेटालाई प्रभाव परेको कम्पनीले जनाएको छ ।
मेटाका प्रमुख वित्तीय अधिकृत डेभ वेन्हरका अनुसार फेसबुक र इन्स्टाग्राममा यस वर्ष विज्ञापनमार्फत आउने झन्डै १० अर्ब डलर गुम्ने सम्भावना रहेको छ । मेटाको कूल आम्दानीको ठूलो हिस्सा विज्ञापनबाट आउने गर्छ । आउँदो त्रैमासिकमा मेटाले २७ देखि २९ अर्ब अमेरिकी डलरसम्म आम्दानीको लक्ष्य राखेको छ ।