Logo
Logo

‘कमिशन बाँडफाँडमा विवाद हुँदा हत्या’


5.9k
Shares

काठमाडौं । मोरङ र ललितपुरमा भेटिएका तीन जनाको शव कमिशन बाँडफाँडमा विवाद हुँदा हत्या गरिएको भेटिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार धितोमा जग्गा राखेर बैंक ग्यारेन्टी मिलाएबापत आउने ‘कमिशन’ बाँडफाँडमा विवाद भएपछि ३ जनाको हत्या गरिएको देखिएको हो ।

गत मंसिर २८ गते ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या गरिएको खुलेको छ । उनको शव बिहीबार प्रहरीले गाडिएको अवस्थामा भेटिएको थियो । यस्तै, शम्भु चौधरी र राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार श्रेष्ठलाई पुस ५ मा र शम्भु चौधरीलाई पुस ७ मा हत्या गरिएको थियो ।

हत्यापछि शव खाल्डोमा पुर्ने मुख्य योजनाकार सिरहा घर भएका अनिलकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डललाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भएका शम्भु चौधरीको शव माघ १३ मा भेटिएको थियो ।

उनको शव भेटिएको ठाउँभन्दा २५ मिटर पर सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको शव माघ १४ मा फेला परेको थियो । चौधरी काठमाडौंको क्षेत्रपाटी बस्थे । जग्गा कारोबार र ठेक्कापट्टा गर्ने चौधरी काठमाडौंबाट ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठसँगै काठमाडौंबाट मोरङ गएको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरीका मृतक तीन जना र मुख्य आरोपी अनिलकुमार मण्डलको बीचमा पूर्व चिनजान थियो । राजेन्द्रकुमार श्रेष्ठ जग्गाको कारोबार गर्थे । शम्भु चौधरीचाहिँ ठेक्कापट्टा गर्थे । मण्डल सातदोबाटोमा रहेको एक फाइनान्सको अध्यक्ष रहेको खुलेको छ । राजेन्द्र श्रेष्ठसँग राम्रो सम्बन्ध भएका अनिल उनलाई जग्गा किन्ने ग्राहक भेट्टाउँथे र कमिशन लिन्थे ।
ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित धापाखेलमा मृत भेटिएका मोहनप्रसाद लिम्बुको विश्वासपात्र थिए– राजेन्द्र श्रेष्ठ । राजेन्द्रको मोटरसाइकल पछाडि बसेर हिँड्थे लिम्बु । शम्भु चौधरी र मोहन लिम्बुको पनि चिनजान थियो ।

शम्भुले दाङको लमहीमा बन्दै गरेको सडकको ठेक्कामा पार्टनरसीप गरेका थिए । त्यसका लागि उनलाई ‘बैंक ग्यारेन्टी’ चाहिने भयो । सो कुरा राजेन्द्र र मोहनसँग उनले सेयर गरे । अनिल मण्डलसँग पनि त्यसबारे सल्लाह भयो ।

‘कमिशन खाने विषयमा विवाद हुँदा ३ जनालाई हत्या गरेको थाहा भएको छ’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले भने, ‘कमिशन बाँड्ने क्रममा धेरै रकम एक्लै लिन्छु भनेर अनिलकुमार मण्डलले हत्या योजना बनाएको देखिन्छ, थप अनुसन्धान गर्दैछौं ।’

कमिशन लिनेबारे धेरै किचकिच गरेको आरोपमा अनिलले धापाखेलमा भाडामा लिएर घरमा लिम्बुलाई पहिले हत्या गरेका थिए । विराटनगर पुगेपछि पुस ५ मा राजेन्द्रको हत्या गरे । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार अनिलले पहिले शम्भुलाई हत्या गर्ने योजना बनाएका थिएनन् । ‘तर, शम्भुलाई छाड्दा कर्तुत खुल्ने डरले पुस ७ मा उनको पनि हत्या गरेको देखिन्छ ।’

मंसिर २९ मा राजेन्द्र र शम्भुसँगै अनिल विराटनगर गएका थिए । एउटै गाडीमा गएर दुवैजनालाई मारेपछि उनी काठमाडौं फर्केको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । विराटनगरमा मृत फेला परेका दुवैजनालाई उखुबारीमा नै हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी जिसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्