काठमाडौं । राहदानी विभागको अनलाइन फारम किर्ते गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित विभागको हाता बाहिर अनलाइन फारम किर्ते गरी सेवाग्राहीहरूबाट रकम असुलेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भई काठमाडौंको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लम्जुङ बेसीसहर गाउँपालिका-११ घर भई काठमाडौंको टोखा बस्ने ४० वर्षीय नविनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटेका ३६ वर्षीय यमबहादुर थापामगर छन् ।
उनीहरूले किर्ते गरी सेवाग्राहीबाट रकम असुल गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । त्यसअनुसार खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।
मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद-२५ अन्तर्गत दफा २७६को किर्ते गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।
प्रहरीले यससम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ । उनीहरूबाट प्रहरीले ४० हजार नगद, ल्यापटप, ५० थान किर्तेका कागज लगायत केही सामग्री बरामद गरेको छ ।