काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनाव पछाडि मात्र अगाडि बढाउन प्रस्ताव गरेका छन् ।
आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संयुक्त बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् । बैठकमा देउवाले एमसीसी सम्झौता अघि बढाउन प्रस्ताव गरेका थिए । तर, प्रचण्डले भने चुनाव नजिकै आइसकेको र आउँदो वर्षभित्र सबै तहको चुनाव गरिसक्नुपर्ने भएकाले एमसीसीलाई त्यसपछि मात्र टुंग्याउनु उपयुक्त हुने धारणा राखेका थिए ।
‘एमसीसीका सन्दर्भमा उहाँले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गरोस् वा संयुक्त रुपमा प्रतिपक्ष समेत भएर चुनाव पछाडि मात्र अगाडि बढाउन उचित हुन्छ भनेर प्रस्ताव पठाउँ भनेर आग्रह गर्नु भएको छ,’ एमाले महासचिव शंकर पोखरेलले भने ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउन सहयोग मागेका थिए ।