Logo
Logo

एमसीसीमा तीन दल तीनतिर


1.3k
Shares

काठमाडौं । एमसीसी मुद्दामा एकअर्कामाथि लगातार दबाब बनाउने रणनीति लिएर दाउपेचको राजनीति गरिरहेका प्रमुख तीन दलबीच संवादको थालनी भएको छ । आइतबार केही समयको अन्तरालमा सार्वजनिक भएका दुई पत्रले गठबन्धनमा रहेका दलहरूबीच थप अविश्वास पैदा भएको छ भने एमसीसी र संसद् अवरोध खोल्ने विषयमा प्रमुख प्रतिपक्षीसँग नयाँ चरणबाट वार्ता सुरु भएको छ । दलहरूबीचकै सहमतिमा एमसीसी संसद्मा पुर्‍याउने प्रधानमन्त्री देउवाको पछिल्लो रणनीति छ ।

अमेरिकाले समयसीमा तोकेर एमसीसी टुंगो लगाउन दबाब दिएपछि अप्ठेरोमा परेका दलहरूले विकल्प खोजीका लागि संवाद थालेका हुन् । लगातार दुई पत्र सार्वजनिक भएपछि प्रमुख तीन दल तातेका छन्, आइतबार रातिसम्म छलफल जारी रहे । एमसीसी मुद्दा निर्णायक चरणतिर प्रवेश गरेपछि संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमाले पनि सत्ता गठबन्धनसँग संवादमा जोडिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार संसद् खोल्ने र एमसीसीलगायत मुद्दालाई अगाडि बढाउने विषयमा छलफल भए पनि सहमति जुटेको छैन । यद्यपि एक शीर्ष नेताका अनुसार दलहरूले ह्वीप नलगाई एमसीसी अनुमोदनका लागि अगाडि बढाउने सम्भावना छ । संसद् खुलाउन प्रधानमन्त्री आफैं र निकट नेताहरूमार्फत विभिन्न तहमा संवाद पनि अगाडि बढाएका छन् ।

बालुवाटारमा भएको छलफलमा नेताहरूका अलग–अलग धारणा र प्रस्ताव आएका छन् । छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलका अनुसार सत्ता गठबन्धनमा रहेका देउवा र दाहालबीच समान धारणा आएको छैन भने एमालेले पूर्ववत् अडान दोहोर्‍याएको छ । दाहालको सचिवालयले आइतबार साँझ प्रेस नोटमार्फत एमसीसीमा पार्टीको पूर्वअडान यथावत् रहेको स्पष्ट पारेको छ । बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिबाटै एमसीसी निष्कर्षमा पुग्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् । ‘छलफल सकारात्मक दिशामा अघि बढेको छ, आगामी दिनमा यी नै विषयहरूमा छलफल हुने सहमतिका साथ बैठक सकिएको छ,’ कार्कीले भने ।, यो समाचार आजको कान्तिपुरबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्