रुकुम । रुकुम पूर्व मा विभिन्न ठाउँमा खोप अभियान सञ्चालन गर्दा पनि खोप लागाउने लक्षित उमेर समूहका व्यक्ति खोप केन्द्रसम्म नआउँदा समस्या भएको स्वास्थ्य कार्यालय रुकुम पूर्व ले बताएको छ ।
जिल्लामा खोप पर्याप्त भए पनि लगाउने व्यक्तिको अपेक्षित उपस्थिति नहुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवम् कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले बताए । उनका अनुसार जिल्लामा खोप लगाउने लक्षित जनसङ्ख्या ४५ हजार ३६९ हो । अहिलेसम्म ३३ हजार ५५१ जना अर्थात् ७३ प्रतिशतले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन् भने २९ हजार ५०१ जना अर्थात् ६५ ०२ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् ।
कोरोना फोकल पर्सन गिरीका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिकामा नौ हजार १६४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने आठ हजार १३० जनाले दोस्रो मात्रा लगाएका छन् । त्यहाँको खोप लगाउने लक्षित जनसङ्ख्या १५ हजार ४८७ हो ।
भूमे गाउँपालिकामा ११ हजार ९८२ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने १० हजार ४३० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यहाँको लक्षित जनसङ्ख्या १८ हजार ८१३ हो । सिस्ने गाउँपालिकाका १२ हजार ४०५ जनाले पहिलो मात्रा लगाएका छन् भने १० हजार ९८२ जनाले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस गाउँपालिकाको लक्षित जनसङ्ख्या १४ हजार ६८ हो ।
पहिले कत्ति पनि खोप नलगाएका, दोस्रो मात्रा छुटेका र बुस्टर डोज खोप लगाउने कार्य अहिले चलिरहेको छ । सिस्ने गाउँपालिकामा स्वास्थ्य कार्यालयबाट र भूमेमा गाउँपालिका केन्द्र खाबाङबाट खोप अभियान चलिरहेको छ । पुथाउत्तरगङ्गामा खोप पठाए पनि मानिस नआउँदा खोप कार्यक्रम सञ्चालन हुन नसकेको फोकल पर्सन गिरीले बताए । मानिसले कोभिडलाई सामान्य रुपमा लिँदा खोपप्रतिको चासो कम देखिएको पाइएको छ । अहिले जिल्लामा मात्रै दुई हजार २०० डोज कोभिडको खोप मौज्दात रहेको स्वास्थ्य कार्यालय रुकुम पूर्व ले जनाएको छ ।