काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले आमागी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गतेको लागि निर्वाचन मिति प्रस्ताव गरेको थियो । तर मन्त्रिपरिषद्ले अझ अगाडिकै मिति तय गरेको हो । स्थानीय तहको मितिका सम्बन्धमा केही समययता विवाद हुँदै आएको थियो ।
स्थानीय तहको अघिल्लो निर्वाचन तीन चरण (२०७४ वैशाख ३१, असार १४ र असोज २)मा भएको थियो । स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ ।
४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । यसपटक भने एकै चरणमा निर्वाचन गर्ने बताइएको छ ।