काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी नेताहरुलाई एकै ठाउँमा आउन आह्वान गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’लगायतलाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘साथीहरु घर फर्किनुभयो, धेरै राम्रो भयो । म अरु साथीहरुलाई पनि घर फर्किन भन्छु । एकै ठाउँमा आऔं ।’
ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रमबाट विप्लव नेतृत्वको नेकपाको जुम्ला इञ्चार्ज तिरुवासहित जिल्ला कमिटीका सदस्यहरु माओवादी केन्द्र प्रवेश गरेका छन् । उक्त कार्यक्रममा प्रचण्डले क्रान्ति गरिन्छ भन्दै माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किने क्रम जारी रहेको पनि बताए ।
पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्ने प्रचण्डको भनाई छ । यही कुरा नबुझ्दा विगतमा माओवादी फुटेको भन्दै प्रचण्डले पछि कुरा बुझेकाहरु पार्टीमा फर्किन थालेको बताए ।
‘नेतृत्वले अलि परसम्म हेरेर मुलुक र जनताको हितमा आफ्नो पार्टी र वर्गको हितमा घुम्ने कार्यनीति लिएर आयो । साथीहरु त्यो घुम्तीहरुमा झुक्किनुभयो र छुट्नुभयो । यो कुरालाई बुझ्नु भएन’, प्रचण्डले भने ।
‘साथीहरुमा भ्रम सिर्जना भयो र निस्किने काम भयो । हामीले पनि बुझाउन सकेनौं,’ प्रचण्डले भने, ‘हामीहरु एउटा रणनैतिक सोचका साथ अगाडि बढेका छौं, तत्कालीन स्टेपहरुको पछाडि अर्को दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा साथीहरुले बुझ्दै जानु भएको छ ।’