काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । हेटौँडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीमाथि पटक-पटक निर्मल निवासको हस्तक्षप भएको दाबी गर्दै त्यो राम्रो नभएको बताए । उनले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’
गएको मङ्सिरमा भएको अधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट जनाउँदै आएका थिए । थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष लिङ्देनले सुनुवाइ नगरेपछि पार्टीबाटै अलग हुने निर्णय लिएका हुन् ।