काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
थापाले पार्टी छोडेको घोषणा गरेलगत्तै लिङ्देनले छोटो प्रतिक्रिया दिँदै निवर्तामान थापाले पार्टी परित्याग गर्नु अनपेक्षित र दुर्भाग्यपूपर्ण भएको बताएका हुन् । उनले भने, ‘उहाँको पत्रको विषयमा पार्टीको शीर्ष तहमा छलफल भइरहेको बेला यस्तो निर्णय हुनु अनपेक्षित र दुर्भाग्यपूर्ण छ ।’
थपाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर पार्टीमै क्रियाशील रहने चाहना भएपनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएको बताए थिए ।
गएको मङ्सिरमा भएको अधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट जनाउँदै आएका थिए । थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष लिङ्देनले सुनुवाइ नगरेपछि उनी पार्टीबाटै अलग भएका हुन् ।