काठमाडौं । नेकपा एमालेले निर्वाचन केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष दल एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको हो ।
महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूलाई कार्यक्रम तालिकासहित आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।
पोखरेलले जारी गरेको निर्देशनअनुसार कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नेछन् । उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी सहभागी रहने उल्लेख छ ।
प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका इन्चार्ज तथा सहइञ्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरू, प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी इन्चार्ज, सहइन्चार्ज, पदाधिकारीलगायत सहभागी हुने एमालेले जनाएको छ ।
एमालेले तय गरेअनुसार फागुन १–२ मा प्रदेश नं.१ को विराटनगरमा, फागुन ३–४ गते मधेस प्रदेशको जनकपुरमा, ६–७ गते वाग्मतीको काठमाडौंमा, फागुन ८–९ मा गण्डकीको पोखरामा प्रशिक्षण हुनेछ ।
त्यस्तै लुम्बिनी प्रदेशका बुटवल र दाङमा फागुन ११–१२, कर्णाली प्रदेशको सुर्खेतमा फागुन १४–१५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १६–१७ गते प्रशिक्षण कार्यक्रम हुने एमालेले जनाएको छ ।
सातवटै प्रदेशमा कार्यक्रम सकेपछि जिल्ला र महानगर तथा सबै स्थानीय तहमा कार्यक्रम गर्ने योजना एमालेले बनाएको छ ।