काठमाडौं । नेकपा माओवादी केन्द्रले माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ ।
उक्त बैठकबाट केन्द्रीय पदाधिकारीको टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ । पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।
यसअघि पार्टी पदाधिकारीको टुंगो लगाउन भन्दै पुस २५ गते बैठक बोलाइएको थियो । तर, पार्टीका नेता तथा कार्यकर्तालाई कोरोना संक्रमण देखिएपछि स्थगन गरिएको थियो ।