काठमाडौं । विश्वको कुल जनसङ्ख्याको आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको युरोपेली स्वास्थ्य आयुक्तले दाबी गरेका छन् ।
स्वास्थ्य र खाद्यका लागि युरोपेली युनियनका आयुक्त स्टिला काइरियाकिड्सका अनुसार विश्वको जनसङ्ख्यामध्ये आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको र यसलाई बढाउन अझै कोसिस गर्नुपर्ने बताएको समाचार संस्था एएनआईले जनाएको छ । उनले कोरोनाविरुद्धको खोपको लागि अझै विश्वव्यापी अभियान जरुरी रहेको पनि बताएका छन् ।
युरोपेली युनियनले विश्वभरका एक सय ६५ देशलाई एक अर्ब ७० करोड मात्रा खोप उपलब्ध गराएको बताउँदै आयुक्त काइरियाकिड्सले यो मात्रा अझै पर्याप्त नभएको र थप पहल जरुरी रहेको उल्लेख गरेको समाचारमा उल्लेख छ ।
खोप लगाउनेको सङ्ख्या निकै कम रहेको अफ्रिकामा युरोपेली युनियनले खोपको प्याकेज उपलब्ध गराउन लागेको जानकारी दिएका छन् । उनले युरोपेली देशहरुले कोभ्याक्स सुविधालाई अझै बढाउने पनि बताए ।
गएको डिसेम्बरमा युरोपियन युनियनले आउँदो जुन महिनासम्म विश्वका ७० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने लक्ष्य रहेको उल्लेख गरेको थियो ।