Logo
Logo

सम्मरिमाई गाउँपालिकाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश


1.5k
Shares

काठमाडौं । रुपन्देहीको सम्मरिमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपामाओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा विहिबार आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्लासहित वडाध्यक्ष श्रवणकुमार यादवलगायतका जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई अध्यक्ष दाहालले पार्टीमा स्वागत गरेका थिए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले माओवादीको विजय यात्रालाई रोक्न सकिँदैन भन्ने ठानेर विगतदेखि नै निकै ठूलो षड्यन्त्रअन्तर्गतका गतिविधि भइरहेकाले त्यसलाई रोक्न सबैको सार्थक पहल जरुरी रहेको बताए । विगतमा पनि तराई मधेशमा माओवादीविरुद्ध ठूलो भ्रम छरिएको र माओवादीले केही पनि गर्दैन भन्ने कुरा स्थापित गर्न खोजिए पनि जनताका सामु त्यो सबै खारेज भएको उनको भनाइ थियो ।

यतिबेला मधेसवादी भनिएका पार्टीले नै सङ्घीयता, गणतन्त्र, पहिचान अधिकार विरोधी केपी शर्मा ओलीसँग गएर साँठगाँठ गरेको उनको आरोप थियो । उहाँले जनताका बीचमा भएर पार्टीविरुद्ध छरिएका भ्रम चिर्न र सङ्गठित गर्न अध्यक्ष प्रचण्डले आग्रह गरे ।

यसैबीच माओवादीको शुक्रबार र शनिबारका लागि तय भएको केन्द्रीय समितिको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । माओवादीले पदाधिकारी चयनलगायतका विषयमा छलफलका लागि बैठक बोलाएको थियो । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्