काठमाडौं । ज्योति विकास बैंकले दुई संस्थालाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाँकेको कोहलपुर नगरपालिकामा रहेको शम्शेरगन्ज स्वास्थ्यचौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेड र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको किरियापुत्री भवनलाई ग्यास–गिजर सहयोग गरेको हो ।
शम्शेरगन्ज स्वास्थ्यचौकी प्रांगणमा आयोजित एक कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख कपिल न्यौपाने र कोहलपुर शाखा प्रबन्धक रेकमबहादुर केसीले जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्यचौकी प्रमुख लीलाधर बुढाथोकीलाई डेलिभरी बेड औपचारिक रूपमा हस्तान्तरण गरेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष पतिराम थारूको उपस्थिति रहेको जनाइएको छ ।
साथै बैंकले काठमाडौंको श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको किरियापुत्री भवनलाई बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा, काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख दिलीपराज बराल र बैंककी रातोपुल शाखा प्रबन्धक प्रज्ञा कँडेलले ग्यास–गिजर हस्तान्तरण गरेको जनाइएको छ । बैंकले एक सय नौ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटिएममार्फत सेवा दिँदै आएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले अन्य विभिन्न संघसंस्थालाई पनि सहयोग गर्दै आइरहेको छ ।