काठमाडौं । संगीतकार महेश खड्काले अर्का संगीतकार वसन्त सापकोटाविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताए । सापकोटाले संगीत चोरेको आरोप लगाएपछि खड्काले आरोप प्रमाणित गर्न चुनौती दिँदै आरोप प्रमाणित गर्न नसके मानहानीको मुद्दा दायर गर्ने बताएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत चोरी गरेको भनेर आफूमाथि लगाएको आरोप निराधार रहेको बताए । सापकोटाले बौद्धिक सम्पती चोरीको विषयमा कानूनी उपचार खोज्ने धेरै कानूनी उपाय छोडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पु¥याएको आरोप समेत खड्काले लगाए ।
गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बूले गाएको ‘नोगेन’ बोलको गीतको संगीत केही अंश चोरेको आरोप संगीतकार वसन्त सापकोटाले खड्कालाई लगाएका थिए । संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’ को ‘सागर सरी चोख्यो माया’ भन्ने गीतको धेरै अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा खड्का माथि आरोप लगाएका थिए ।