काठमाडौं । चारदेशीय टि–२० शृँखलाको आज भएको दोस्रो खेलमा संयुक्त यूएईले नेपालसामु १ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले टस जितेर पहिले बलिङ गरेको थियो । पहिले ब्याटिङ गर्दै यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनाएको हो ।
यूएईका लागि चिराग सुरीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । यस क्रममा उनले ५ चौका र ५ छक्का हिर्काए । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिए ।
नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए । शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चार देशीय शृँखलामा सहभागी छन् ।