प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई लेखेको पत्र सार्वजनिक हुनु र खड्गप्रसाद ओली बालुवाटार प्रवेश गरेर प्रचण्डसहितको बैठकमा सामेल हुनु यो कुनै संयोग होइन ।
आफू सत्तामा छँदा सभामुख अग्निप्रसाद सापकोटाको कारण एमसीसी अघि बढेन भनेर हाकै भनेको एमाले हाइकमाण्ड अहिले भने सत्ताधारी दलहरुको धारणा आएपछि मात्र बोल्ने भनेर रमिता हेरेर बसेको छ ।
प्रधानमन्त्री देउवा जसरी पनि पास गर्ने पक्षमा छन् भने प्रचण्डलाई महाधिवेशनले बिना संशोधन पास नगर्नु भनेर सीमा तोकेर पठाएको छ । गठबन्धन तोडेर सभामुख हटाए मात्र देउवालाई समर्थन गर्ने ओलीको एजेण्डा छ ।
एमसीसीजस्तो राष्ट्रको भविष्यसँग जोडिएको गम्भीर विषयलाई सत्ता राजनीति र माधव–प्रचण्डलाई देखाइदिने बदलाको कुत्सित राजनीतिको अस्त्र बनाएर फोहरी राजनीतिमा एमाले डुब्नु हुन्न ।
नेपालजस्तो दाताहरुको सहयोगमा चलेको मुलुकमा दातृ निकायका सहयोग यो वा त्यो रूपमा वर्षौँदेखि आइरहेका छन् । मुलुकमा भएका उद्योगधन्धाहरु कौडीको भाउमा बेचेर पराश्रित दान दातव्यमै मुलुक चलिरहेको थियो र छ । देश बनाउने जनशक्ति विदेश बनाउन पठाएर आउने रेमिट्यान्सले अर्थतन्त्रको केही प्रतिशत धानेको छ ।
मुलुकमा स्थिरता आउला र समृद्धिको बाटोमा मुलुक जाला भनेर नेपाल कम्युनिष्ट पार्टीलाई बहुमत दिएका जनता पनि हेरेको हेर्यै भए । मुलुकको सम्भ्रान्त वर्ग र राजनीतिको भर्याङ चढेर नवसम्भ्रान्त बनेका हुनखानेहरुका लागि त मुलुक सधैँ स्वर्ग नै थियो । तर, यो दान दातव्यका लागि भइरहेको लडाभाँती हेर्दा भने स्वाभिमानी नेपालीहरुको शीर लज्जाले निहुरिएको छ ।
देउवा र प्रचण्डको पत्र सार्वजनिक भएसँगै अब कांग्रेस एमालेको गठजोड हुने सम्भावना बढेर गएको छ । अमेरिकी दबाबका अगाडि देउवाले समय थप्ने हिम्मत गर्ने छाँटकाँट देखिँदैन ।
यही मुद्दाको कारण गठबन्धन भत्काउन पाए ओलीको सपना पूरा हुनेछ । यहीनेर प्रश्न उठ्छ, देशको सार्वभौमसत्तामै प्रश्न उठ्न सक्ने कÞुराहरुमा यति छुद्र राजनीतिले देशको भविष्य कहाँ पुग्ला ? के एउटा एमसीसी नआउँदैमा नेपालको भविष्य अन्धकार नै हुने हो र ? दाताहरु किन घरघरै हजूर सहयोग लिइदिनुस् भनेर हिँडेका छन् ?
माधवकुमार नेपाल र प्रचण्डहरुको अगाडि एमसीसीको खड्गो उभिएको छ । यो अग्निपरीक्षामा अमेरिकीहरुलाई यही बहानामा छिर्न दिने या एमसीसीमा भएका मिचाहा बुँदाहरु नहटाउँदासम्म पास नगर्ने अडान लिने ? या, एक कदम अघि बढेर हामीलाई यो सहयोग चाहिँदैन भनेर फिर्ता पठाउन पहल गर्ने । यी विकल्प बाँकी नै छन् ।
आँखै अगाडिको महाकाली सन्धिको उदाहरण छ । एमालेका यिनै नेताहरु महाकाली सन्धिका क्रममा विभाजित भएका थिए । सोही पराकम्पनले पार्टी विभाजित पनि भएको थियो ।
महाकाली सन्धि पास गर्नु देशको हितमा छ भनेर यिनै नेताहरुले ठाउँ–ठाउँमा भाषण गरेका थिए । वर्षेनी अर्बको हिसाबले देशलाई आम्दानी हुने कुरा सुनाएका थिए । खड्गप्रसाद ओली त्यसमा जोड–जोडले बोल्ने एकजना पात्र हुन् । तर, आज महाकालीबाट फुटी कौडी पनि देशलाई फाइदा भएको छैन । उल्टै नोक्सान भएको छ ।
यस्ता भर नभएका नेताहरुले भोलि अमेरिकीहरुसँग सम्झौतामा फसेर मुलुकलाई घाटा हुने काम नगर्लान् भन्न पनि कसरी सकिन्छ र ? साधारणतया मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरे हुने विदेशी सहायतालाई किन संसद्बाटै पास गर्न खोजिएको हो ? जनतासँग यो विषयमा प्रश्न गर्ने र शंका लागेका बुँदाहरुमा नचुक्न नेताहरुलाई खबरदारी गर्ने अधिकार त छँदैछ ।
लोभी र पापी नेताहरुले देशैलाई भड्खालोमा हाल्ने खतरा बढेर गएको छ । उदार पूँजीवादको प्रवेश गराएर कांग्रेस एमालेले नै हो आलोपालो देशका उद्योगधन्धाहरु बेचेको । त्यसलाई जगाउने, स्वास्थ्य शिक्षालाई जनमुखी बनाउनेतिर भन्दा आफू र आफ्ना गुटका नेताहरुलाई कसरी आम्दानी गर्न सकिन्छ भनेर २४ घण्टा लागेका ओली गुटलाई त्यसो नगर्नुस् भन्दा संसद् नै विघटन गरे ।
आफ्नो शक्ति जोगाउन नसकेर कांग्रेसीले ढलमली गर्ने वातावरण तयार भयो । अब यो एमसीसीको निहुँमा पनि कम्युनिष्ट पार्टीभित्र ठूलो ध्रुवीकरणको खतरा उत्पन्न भएको छ । ओली गुटले चाहेको पनि त्यही हो ।
कालान्तरमा कम्युनिष्ट मुकुण्डो उतारेर लोकप्रियतावादको राजनीति गर्ने ओली अन्तर्य त्यही नै हो । कम्युनिष्ट पार्टीप्रति आस्था राख्ने जनमतलाई अल्झाएर पूँजीवादी अर्थराजनीति र भारतीय शिखण्डीको रुपमा कालान्तरमा प्रयोग भइरहने उनको रणनीति नै हो ।
यसका निम्ति उनका निम्ति वामपन्थी शक्तिभन्दा कांग्रेस नजिकको शक्ति हुनेछ । कम्युनिष्टहरु लडिरहेको यो अहिलेको अवस्था र विभाजित भएरै गइरहे आफूलाई चुनाव जित्न सजिलो हुने देउवाले पनि आकलन गरेकै होलान् ।
आखिर नेपालका कम्युनिष्टलाई विभाजित गराएर छिन्नभिन्न रुपमा हेर्ने पश्चिमी चाहना पूरा हुँदै गएको छ । एमसीसीको चारोकै कारण झन् ध्रुवीकरण नेपालको राजनीतिक बृत्तमा नहोला भन्न सकिन्न । एमसीसीलाई जसरी अर्थ लगाए पनि नेपालका कम्युनिष्ट पार्टीहरु महापतनको संघारमा उभिएका छन् ।
ओलीलाई प्रयोग गरेर त्यो शक्तिले आफ्नो अभिष्ट पूरा गरेको छ । जुन शक्तिले पुस ५ घटायो, त्यही शक्तिले फेरि कहिल्यै पनि कम्युनिष्टलाई सत्तामा आउन नदिन अनेक प्रपञ्च रचेको छ, र त्यो शक्ति सफल पनि भएको छ ।
प्रचण्ड र माधव नेपालले राष्ट्रघात कि स्वाभिमान रोज्नुपर्दा पक्कै पनि स्वाभिमान रोज्लान् भन्ने आम अपेक्षा छ । संसदीय राजनीतिको फोहरी आहालमा सर्वाङ्ग भएका ओलीहरुलाई त केको लाज ?
– मदनपोखरा, पाल्पा