काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले गठबन्धनलाई टुटाउन, सरकार गिराउनका निम्ती र चुनाव बिथोल्नका निम्ती प्रपन्च भइरहेका बताएका छन् ।
२७औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले कुनै परियोजनाका निम्ति सत्ता गठबन्धन नबनेको बताउँदै भने, ‘यो गठबन्धनलाई टुटाउनको लागि, सरकार गिराउनका निम्ती र चुनाव बिथोल्नका निम्ती प्रपन्च भइरहेका छन् ।’
प्रतिक्रान्तिकारी शक्ति चुप नलागेको र त्यसलाई मलजल गर्ने देशभित्र र बाहिरका शक्तिहरू सक्रिय रहेको प्रचण्डको भनाई छ ।
संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको बताउँदै त्यसमा दृढ रहन अपिलसमेत प्रचण्डले गरेका छन् । ‘कुनै एउटा खास परियोजनाको निम्ति गठबन्धन भएको होइन । जुन मूल्य र मान्यतामा टेकेर यो गठबन्धन बनाएका हौं, त्यसमा दृढ रहौं ।’
प्रचण्डले प्रतिगमन, प्रतिक्रान्ति र माओवादी आन्दोलनलाई बदनाम गर्ने षडयन्त्रलाई परास्त गर्न सबै माओवादी घटकहरुलाई एकजुट हुन आह्वानसमेत गरेका छन् ।