Logo
Logo

माओवादी केन्द्रले मनायो जनयुद्ध दिवस


1.6k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले २७ औँ जनयुद्ध दिवस मनाएको छ । माओवादीले पार्टी मुख्यालय पेरिडाँडामा एक कार्यक्रम गरी आज २७ औं जनयुद्ध दिवस मनाएको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेता तथा कार्यकर्ता सहभागी थिए ।

कार्यक्रममा नेता तथा कार्यकर्ताले सहिदको फोटोमा माल्यार्पण गरेका छन् । कार्यक्रममा बोल्दै नेताहरुले जनयुद्धको प्रशंसा गर्दै सहिदप्रति श्रद्धान्जली व्यक्त गरे ।

उनीहरुले घाइते तथा सहिद परिवारप्रति सम्मान पनि व्यक्त गरेका थिए । कार्यक्रममा सहिद परिवारका सदस्यहरुको पनि उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले गठबन्धनलाई टुटाउन, सरकार गिराउनका निम्ती र चुनाव बिथोल्नका निम्ती प्रपन्च भइरहेका बताएका छन् ।

प्रचण्डले कुनै परियोजनाका निम्ति सत्ता गठबन्धन नबनेको बताउँदै भने, ‘यो गठबन्धनलाई टुटाउनको लागि, सरकार गिराउनका निम्ती र चुनाव बिथोल्नका निम्ती प्रपन्च भइरहेका छन् ।’

प्रतिक्रान्तिकारी शक्ति चुप नलागेको र त्यसलाई मलजल गर्ने देशभित्र र बाहिरका शक्तिहरू सक्रिय रहेको प्रचण्डको भनाई छ ।

संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको बताउँदै त्यसमा दृढ रहन अपिलसमेत प्रचण्डले गरेका छन् । ‘कुनै एउटा खास परियोजनाको निम्ति गठबन्धन भएको होइन । जुन मूल्य र मान्यतामा टेकेर यो गठबन्धन बनाएका हौं, त्यसमा दृढ रहौं ।’

प्रचण्डले प्रतिगमन, प्रतिक्रान्ति र माओवादी आन्दोलनलाई बदनाम गर्ने षडयन्त्रलाई परास्त गर्न सबै माओवादी घटकहरुलाई एकजुट हुन आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्