काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सबै सांसदको साथमा प्रधानन्यान्याधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता गुरुङले प्रधानन्यायाधीशका कारण संविधान नै संकटमा परेको अवस्थामा कुनै पनि सचेत सांसद चुप लागेर नबस्ने बताउँदै अविश्वासको प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका हुन् ।
नेता गुरुङले भने– ‘राज्यको तीनै अंग लक भएको अवस्थामा प्रजातन्त्र नै विफल हुने र संविधान नै संकटमा पर्ने अवस्थामा सबै सांसद सचेत हुनुहुन्छ । त्यसैले सबैको सहयोगमा महाअभियोग पास हुन्छ ।’
प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव संसदको दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने हुन्छ । महाभियोगको प्रस्तावकमा कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङ र एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन् । आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न नसकेपछि २१ बुँदे कारणसहित महाअभियोग लगाउनुपरेको प्रस्तावक गुरुङले बताए ।
प्रधानन्यायाधिशमा कार्यक्षमता अभाव देखिएको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र न्यायिक सम्पादनमा क्षमता अभाव देखिएकाले महाअभियोग प्रस्ताव दर्ता गरिएको जानकारी दिए ।
न्याय दिने ठाउँ निरन्तर रूपमा उनको कारणले अवरुद्ध रहेकाले महाअभियोगको कदम चाल्नुपरेको उनको भनाइ छ ।
नेपालको संविधानको धारा १०१(२) अन्तर्गत संसद सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता गरिएको गुरुङको भनाइ छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वतः निलम्बनमा परेका छन् ।
संसदीय प्रक्रियामा महाअभियोगको प्रस्ताव छलफलमा हुने उक्त छलफलपछि छानविन समिति बनाएर बयानका लागि बोलाउने प्रावधान रहेको छ ।