काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले प्रमुख प्रतिपक्षीलाई थाहै नदिइ प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्नु लोकतन्त्र विपरीत भएको बताएका छन् ।
प्रधानन्ययाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता गरेपछि नेता नेम्वाङ्ले सो कुरा बताएका हुन् । सत्ता पक्षले छापामार शैलीमा प्रतिपक्षीलाई जानकारी नगराइ प्रधानन्ययाधीशविरुदद्ध महाअभियोग लगाउनु लोकतन्त्र विपरीत भएको उनले बताए ।
उनले भने, ‘सत्ता पक्षले छापामार शैलीमा हामीलाई कुनै जानकारी नदिइकन महाअभियोगको प्रस्ताव गर्यो । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ, संसदीय व्यवस्थामा प्रतिपक्षीलाई राज्यको अभिन्न अंगको रुपमा मानिन्छ । तर, सत्ता पक्षको यो काम कारवाही लोकतन्त्रको विपरित छ ।’
प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाभियोग प्रस्तावमा प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप उल्लेख गरिएको छ ।