काठमाडौं । नेपाली कांग्रेसकी सचतेक पुष्पा भुलाससले अदालत जोगाउन महाभियोगभन्दा अर्को विकल्प नभएको बताएका छन् । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग दर्ता गरेपछि उनले सो कुरा बताएका हुन् ।
प्रधानन्यायाधीशले निकास नदिँदा महाभियोग दर्ता गर्नुपरेको उनको भनाइ छ । उनले भने, ‘जनताको न्यायमा पहुँच नभएको, संवैधानिक इजलास अघि बढ्न नसकेको, संविधानको कार्यान्वयनमा अवरोध भएको लगायतका कारणले गठबन्धनका दलहरुले महाभियोग प्रस्ताव दर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।’
न्यायपालिकाभित्र देखिएको विवाद अन्त्यका लागि राणाले पटक्कै सक्रियता नदेखिएको भुसालको भनाइ छ । उनले भने, ‘आज न्यायपालिका ठप्प हुनुपर्ने स्थिति सिर्जना भयो। जुन किसिमले प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमै, बारबाट र नागरिकस्तरमा विरोधका कार्यक्रम भइराखेका थिए, त्यसले गर्दा पनि महाभियोग प्रस्ताव दर्ता गर्नुपर्ने स्थिति आयो ।’