काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलका ९८ जना सांसदहरुले दर्ता गरेको महाभियोग प्रस्तावबारे छलफल गर्न एमालेले बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा सबैलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने भएको छ ।
विशेषगरी प्रधानन्यायाधीशविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुने एक नेताले बताए ।
महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको तयारी छ । यसअघि आइतबार साँझ सम्पन्न एमाले सचिवालय बैठकले प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।