बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकाको कार्यालयमा स्थानीयबासीले तालाबन्दी गरेका छन् ।
आइतबार स्थानीयले कार्यालयबाट प्रदान गरिने सेवा सुविधा पालिकाले करिब पाँच महिनासम्म अवरोध गरेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
कात्तिक महिनादेखि हालसम्म कार्यालयबाट नागरिकलाई दिइने सेवा प्रदान नगरेको र जसका कारण नागरिकलाई पर्न गएको समस्यालाई करिब ४-५ महिनासम्ममा पनि वास्तै नगरिएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको स्थानीय टिका थापाले बताए ।
प्रमुख प्रशासकीय अधिकृतविहीन पालिका बनेको करिब तीन महिना पुगेको छ, आर्थिक कारोबार ठप्प छ, जसले गर्दा नागरिकलाई खेप्नु परेको समस्याको कुनै पनि वास्ता नगरेपछि सबै स्थानीय मिलेर कार्यालयमा ताला लगाएको स्थानीय शुसिला मिजारले बताए ।
कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत यथाशिघ्र व्यवस्थापन गरी आर्थिक कारोबार तुरुन्त सूचारु गर्नु पर्ने मागसहित कार्यालयमा ताला लगाएको उनको भनाइ रहेको छ ।
प्रशासकीय अधिकृत नहुँदा समाजिक सुरक्षा भत्तासमेत नगरिकले पाएका छैनन्, शिक्षकले ४ महिनासम्म तलब खान पाएका छैनन्, कर्मचारीले पनि तलब खान पाएका छैनन् यस्तो समस्या हुँदा पनि हालसम्म कार्यकारी ल्याउने सुरशार नभएको भन्दै तालाबन्दी गरिएको मिजारले जानकारी दिए ।
नगरपालिकाभित्र विभिन्न ठाउँमा भएका योजनाको काम नागरिकले सम्पन्न गरेर कार्यपालिकामा कागजात बुझाएको दुई महिना हुँदासम्म पनि काम गरेको ज्याला नपाउँदा स्थानीय मारमा परेका छन् ।
पुस महिनामै काम सकेर नगरपालिकामा कागजात बुझाएका थियौं तर काम सम्पन्न गरेको लामो समयसम्म पनि योजनाको भुक्तानी नहुँदा मजदुर समस्या परेको स्थानीय टिका थापाले बताए ।
सामाजिक सुरक्षा भत्ता समयमा वितरण गर्नु पर्ने, शिक्षक कर्मचारीको तलब समयमा उपलब्ध गरिनु पर्ने र निमार्ण कार्य सम्पन्न गरिएका योजनाको रकम नियमानुसार भुक्तानी गर्नु पर्ने माग स्थानीयको छ ।
त्यस्तै निर्वाचन कार्यालय स्थापनाका लागि सर्वदलीय सर्वपक्षीय र कार्यपालिकाको बैठकबाट कार्यालय स्थापनाको निर्णय गर्नु पर्ने, प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा यथाशिघ्र व्यवस्था गरीसक्नु पर्ने, नगर प्रमुख र उपप्रमुखले जनताको भावना अनुरुप कार्य गर्नु पर्ने र समयमा कर्मचारीहरु कार्यालयमा उपस्थित भई जनताका सेवामा खटिनु पर्ने लगायतका माग उनीहरुको रहेका छन् ।
स्थानीयबासीले माग पूरा नभए पालिकाका सबै वडाहरुमा ताला लगाउने र आन्दोलन गर्ने समेत चेतावती दिएका छन् ।
बुढीगंगा नगरपालिका उपप्रमुख तारा खातीले कार्यकारीका लागि धेरै पटक मन्त्रालयमा पहल गर्दा पनि अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताइन् । लामो समयसम्म जनतालाई दिने सेवामा अवरोध भएको बताउँदै स्थानीयले ताला लगाउँनु स्वाभाविक भएको उनको भनाइ छ ।
स्थानीयले ताला लगाएको भर्खर थाहा पाएको भन्दै आफू कामका सिलसिलामा कार्यपालिकाको कार्यालय बाहिर रहेकाले मंगलबार स्थानीयका मागका विषयमा छलफल गर्ने उनले बताए ।
सेवा नपाएको भन्दै स्थानीयबासीले नगरपालिकाको कार्यालयमा ताला लगाउँदा मेयर दिपक विक्रम शाह भने यूरोप भ्रमणमा छन् । मेयर शाह कहिले देश फर्कने भन्ने कसैलाई थाहा नभएको उपमेयर खातीले बताइन ।