बारा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै निर्माण हुने बताएका छन् ।
नागरिक उड्डयन प्राधिकरणले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आयोजना गरेको कार्यक्रममा नेपालले निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीमा लैजाने योजना रहेको तर निजगढमै बनाउन आफूले पहल गरेको बताए ।
यसैगरी अध्यक्ष नेपालले निजगढमा विमानस्थल निर्माण गरिए सबै क्षेत्रका नागरिकलाई सहज हुने भएकाले यो परियोजना चाँडो सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।
एक छुट्टै प्रसङ्गमा अध्यक्ष नेपालले अहिले सरकारमा समावेश भएका आफ्ना पार्टीका मन्त्रीहरुको बदनाम गराउन विभिन्न तत्वहरु लागि परेकाले त्यस्ता तत्वबाट बच्न मन्त्रीहरुले पनि आफ्ना बोली तथा भाषामा सावधानी अपनाउन आग्रह गरे ।