काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्ने सरकारको तयारी थियो । तर, एमसीसी पेस गरे सरकार छोड्ने नेकपा माओवादी केन्द्रले चेतावनी दिएपछि सरकार ब्याक भएको छ ।
सत्ता नेतृत्व दल नेपाली कांग्रेसको मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले आजको संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको थियो । कांग्रेसको निर्णयअनुसार नै सरकारले एमसीसी पेस गर्ने तयारी गरेको थियो ।
सत्ता नेतृत्व दल कांग्रेसले एमसीसी पेस गर्ने र पारित गर्न मतदान गर्ने निर्णय गरेपछि आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले विपक्षमा उभिने निर्णय गरेको हो । माओवादीको निणयपछि प्रधानमन्त्री देउवा आज संसदमा एमसीसी पेस गर्ने तयारीबाट पछि हटेका हुन् ।
दलको बैठकलगत्तै प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा प्रचण्डले दलको निर्णय सुनाएपछि प्रधानमन्त्री पछि हट्न बाध्य भएका हुन् ।
आजकै बैठकमा एमसीसी पेस गर्नका लागि प्रधानमन्त्री देउवाले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई सदनमा एमसीसी पेस गर्न प्रस्ताव गरेका थिए । तर, अर्थमन्त्री शर्माले अहिलेकै अवस्थामा एमसीसी पेस गर्न नसकिने अस्वीकार गरे । त्यसपछि प्रधानमन्त्री देउवाले संचारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी तोकेका थिए ।
एमसीसी सदनमा पेस गर्नका लागि सभामुख बाधक बन्न नहुने भन्दै मंगलबारको बैठकबाट कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई थ्रेट गरेको थियो ।
त्यसैगरी आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि कांग्रेसले एमसीसीलाई कार्यसूचीमा राख्न दबाब दिएको थियो । तर, आजको बैठकमा पनि सभामुख सापकोटाले दलीय सहमति बिना एमसीसी टेबुल गर्न नसकिने भन्दै कार्यसूची बनाउन अस्वीकार गरेका छन् ।
सत्तारुढ दलकै असहमतिकाबीच एमसीसी पेस गर्दा सरकार नै ढल्ने भएपछि प्रधानमन्त्री देउवा भोलि बिहीबार छलफल गरेर थप निर्णय लिने पक्षका पुगेका छन् । प्रधानमन्त्री र प्रचण्डबीच भोलि ३ बजे गठबन्धनका शीर्ष नेताबीच छलफल गरेरमात्र एमसीसीबारे थप निर्णयमा पुग्ने सहमति भएको छ ।