काठमाडौं । कानुनमन्त्री दिलेन्द्र बडूले यो शुक्रबार एमसीसी संसदमा पेस हुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् ।
बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘आज र भोलि थप छलफल गरी सहमति जुटाएर ६ गतेको बैठकमा एमसीसी टेबल गर्ने छौँ ।’ एमसीसी टेबल गर्ने विषय अब पर्खिनु नसकिने उनको भनाइ छ ।
मन्त्री बडूले भने, ‘एमसीसीलाई धेरै पर्खिनुहुँदैन । यो संसदमा प्रवेश गर्नुपर्छ । संसदमा टेबल हुनुपर्छ । संसदमा छलफल हुनुपर्छ ।’
सडकमा भइरहेको बहसलाई टुंग्याउन संसदमा एमसीसी टेबल गर्नुपर्ने बताउँदै उनले भने, ‘सडकको बहसले यसको टुंगो लगाउन सक्दैन । यसलाई टुंग्याउ भन्ने हाम्रो पार्टीको र सरकारको प्रस्ताव हो । त्यसैले एमसीसीलाई संसदमा टेबल गराउने हाम्रो उदेश्य हो ।’ उनले माओवादी, एकीकृत समाजवादी र जसपा पनि कुनै न कुनै रुपमा एमसीसीमा जोडिने दावी गरे ।