काठमाडौं । अमेरिकी विद्युतीय गाडी टेस्लाले अब बीवाइडीले उत्पादन गरेको ब्याट्री प्रयोग गर्ने भएको छ । टेस्लाले चिनियाँ विद्युतीय गाडी एंव ब्याट्री उत्पादक कम्पनी बीवाइडीसँग सम्झौ गरेको हो ।
हालै टेस्लाले वार्षिक दुई लाख ४ हजार युनिट गाडीको लागि आवश्यक ब्याट्री अर्डर गरेको बीवाइडीले जनाएको छ । टेस्लाले वार्षिक दुई लाख युनिट गाडीका लागि बीवाइडीको ब्याट्री प्रयोग गर्नेछ । विगतका वर्षमा पनि बीवाइडीले टेस्लालाई ब्याट्री आपूर्ति गर्ने योजना रहेपनि सम्झौता भएको थिएन ।
टेस्लाले अधिकारिक रुपमा बिवाइडीको ब्याट्री निर्माता फाइन ड्रिम्ससँग हरेक वर्ष आवश्यक अनुसार ब्लेड ब्याट्री अर्डर गरेको चाइनिज इन्भेस्टमेन्ट कम्युनिटीले जनाएको छ। कम्पनीका अनुसार आउँदो मार्च महिनाबाट ठुलो संख्यामा सी ११२ एफ मोडेलको ब्याट्री उत्पादन गरिने छ।
बिवाइडीको ब्लेड ब्याट्री जडान गरिएका टेस्लाको इभी दोस्रो त्रैमासिकमा मात्र बजारमा आउने जनाइएको छ। बिवाइडीले हालको उत्पादन क्षमताबाट सांघाईमा टेस्लाको कारखानाको लगभग ४५ प्रतिशत ब्याट्रीहरु आपूर्ति गरिने जनाएको छ।
सांघाईमा रहेको टेस्लाको प्लान्टमा गत वर्ष चार लाख ५० हजार युनिट उत्पादन क्षमता रहेको थियो। अप्रिलपछि यो प्लान्टको क्षमता विस्तार गरिने जनाइएको छ। त्यो प्लान्टको वार्षिक उत्पादन क्षमता आगामी केही वर्षमा १० लाख युनिट भन्दा धेरै माथि पुग्ने कम्पनीले जनाएको छ।