Logo
Logo

कामको चाप र राजनीति कारणले मन्त्रिपरिषद् विस्तार : मुख्यमन्त्री राई


315
Shares

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चाप र राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपालको प्रदेश नं १ स्तरीय प्रथम भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उनले विगतको सरकारले कुनै पनि काम गर्न नसकेको र कार्य विशेषताले मन्त्रालयको विभाजन गर्नुपरेको धारणा व्यक्त गरे।

मुख्यमन्त्री राईले मन्त्रिमण्डल विस्तारबाट केही खर्च वृद्धि भए पनि सरकारले राजस्व बढाउने विश्वास दिलाउँदै विगतको सरकारले ठूलो आर्थिक खाडल सिर्जना गरेकोमा त्यसलाई पुन आफूले महत्वपूर्ण योजना ल्याउने बताए ।

उनले सरकारले बजेटको पुनरावलोकन गरी अनावश्यक योजना कटौती गरी आगामी १०–१५ दिनभित्र केन्द्रबाट थप बजेट ल्याई प्रदेशको समृद्धिका लागि केही नयाँ योजना ल्याउने बताए ।

मुख्यमन्त्री राईले प्रदेशका नामका लागि सबै राजनीतिक दल र सरोकारवालाको भेलाबाट सर्वसम्मत् अथवा मतदान प्रक्रियाबाट आगामी प्रदेशसभाको अधिवेशनबाट टुङ्ग्याउने विश्वास दिलाए । उनले प्रदेशको संरचना निर्माणका लागि यही आर्थिक वर्षभित्र जग्गाको खोजी गरी आगामी आर्थिक वर्षमा निर्माणकार्य सुरु गर्ने जानकारी दिए ।

मुख्यमन्त्री राईले सञ्चारकर्मीको हकहित र वृत्ति विकासका लागि मन्त्रालयमा थप बजेट विनियोजन कार्यान्वयन गर्ने बताउँदै सञ्चारकर्मीको सुझाव अनुसार प्रादेशिक सञ्चार प्रतिष्ठान विधेयकमार्फत ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले महिला तथा अपाङ्गतालाई पत्रकारिता पेशाप्रति आकर्षण जगाउन प्रोत्साहनको व्यवस्था गर्ने बताए । उनले रडियो, टेलिभिजन प्रदेशस्तरमा दर्ताका लागि विधि कानुनअनुसार ऐन बनाउने कार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्