Logo
Logo

एमालेका प्रदेश सदस्य केदार क्षेत्री त्यागे पार्टी


13.9k
Shares

सिन्धुपाल्चोक । एमाले बागमती प्रदेश सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य केदार क्षेत्रीले एमाले परित्याग गरेका छन् । जिल्लाको बलेफी गाउँपालिकाको अध्यक्ष रहेका उनले बुधबार सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गर्दै एमाले त्यागेको घोषणा गरेका हुन् ।

२०७४ को स्थानीय तह चुनावमा क्षेत्री एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । एमालेमा सामन्तवादी सोच र व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएकाले आफूले ४० वर्षदेखि क्रियाशील पार्टी त्यागेको उनले बताए ।

पार्टी केन्द्रीय महासचिव शंकर पोखरेलले चौतारामा एमाले सिन्धुपाल्चोकको नवौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पदको सपथ खुवाइ रहँदा क्षेत्रीले नजिकै अर्को ठाउँमा पत्रकार सम्मेलन गर्दै एमाले त्यागेको घोषणा गरेका हुन् । हालै सम्पन्न जिल्ला अधिवेशनमा उनले अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका थिए ।

तत्कालीन जिविस सदस्यसमेत भएका क्षेत्री एमाले भित्र चर्चित नेतामा पर्थे । निर्वाचन क्षेत्र नं. १ मा राम्रो जनाधार भएका उनको बर्हिगमनले एमालेलाई ठूलो धक्का पुगेको चर्चा राजनीतिक बृतमा हुन थालेको छ । एमालेमा रहँदा उनी तत्कालीन बरिष्ठ नेता माधव नेपालसँग नजिक थिए। नेपाल एकीकृत समाजवादी दल गठन गरेर त्यता गए पनि क्षेत्री एमालेमै बसेका थिए ।

एमाले त्यागे पनि राजनीति नत्यागेको प्रष्ट पार्दै क्षेत्रीले केही समयभित्रै कुनै राजनीतिक पार्टीमा आवद्ध हुने बताए । तर उनले कुन पार्टी भन्ने चाहीँ खुलाएनन् । माधव नेपाल नेतृत्वको समाजवादीमा जान लाग्नु भएको हो भन्ने प्रश्नमा उनले भने, ‘राजनीतिमा नहुने केही छैन ।’ क्षेत्री निकट स्रोतले भने उनी समाजवादीमा प्रवेश गर्ने तयारी भइसकेको बतायो । एमालेमा रहँदा उनले लामो समय नेपाल निकट रहेर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्