रियो द जेनेरिया । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षपछि आएको बाढीमा परी ९४ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोको पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा मंगलबार भारी वर्षा भएको थियो । अरू बेला फेबु्रअरी महिनाभरि पर्ने औसत पानी एकैदिन परेपछि पहिरो आएको र डुबान भएको हो ।
बाढीपहिरोमा परी केही घरहरू भत्किएका छन् भने सडकमा भएका सवारी साधन बगेर गएका छन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
पछिल्लो डिसेम्बरदेखि ब्राजिलमा भारी वर्षाका घटनाहरू धेरै हुने गरेको समाचारमा जनाइएको छ । रूस भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सामाजिक सञ्जालमार्फत् आफूले पेट्रोपोलिसका पीडितलाई राहत दिन भनेका छन् ।