Logo
Logo

नेपाल प्रहरीमा सरुवा रोकेर काज आतंक


151.6k
Shares

काठमाडौं । नेपाल प्रहरीमा नियमित सरुवा हुन सकेका छैनन् । सरुवा रोकर प्रहरी प्रधान कार्यालयले धमाधम काज निकालिरहेको छ । आइतबार मात्र १० डीएसपीको काज सरुवा गरियो ।

जसमा रसुवा, दोलखा र रामेछापका डिएसपी फेरिएका छन् । रसुवामा कुलदिप चन्द, दोलखामा गंगा प्रसाद पौडेल तथा रामेछापमा राजकुमार थिङलाई पठाइएको छ । तीनै जना राजनीतिक सिफारिसका आधारमा सरुवा भएका हुन् ।

रसुवा सरुवा भएका चन्दको डीएसपीमा यो तेस्रो पोष्टिङ हो । यसअघि उनले कमलपोखरी वृत्त तथा इप्रका कोहलपुरको नेतृत्व गरिसकेका छन् । सधै आकर्षक ठाउँमा बस्ने अवसर पाएका उनैलाई रसुवा पठाइएको छ ।

अन्य केही जिल्लाका डीएसपीको पनि १३ महिना नाघिसकेको छ । तर, सरुवामा कुरा नमिल्दा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरुवाको निर्णय गर्न सकेका छैनन् । सबै जसो जिल्लामा डीएसपी पठाउन नेताहरुबाट सिफारिस आएको र त्यसलाई अस्वीकार गर्न नसक्दा सरुवा हुन नसकेको हो ।

गत शुक्रबार एसपीहरुको काज सरुवा गरिएको थियो । त्यसमा पनि चलखेलकै आधारमा निर्णय भयो । कार्यक्षमतामा कमजोर भए पनि मकवानपुरबाट नवराज अधिकारीलाई चितवनको जिम्मेवारी दिइएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड निकट एक समूहलाई प्रभावमा पारी उनी चितवन गएका हुन् । निर्वाचनको समयमा उनले चितवनको कमाण्ड सम्हाल्न सक्नेमा प्रहरी अधिकारीलाई शंका छ ।

सामान्यतया तराईमा दुई जिल्लाको कमाण्ड दिइदैन । तर, अधिकारी मात्र होइन बाराको नेतृत्व सम्हालिसकेका कृष्ण पंगेनीलाई पनि फेरि अर्काे तराईको जिल्ला महोत्तरी पठाइएको छ । जबकी उनीहरुकै ब्याचका कतिपय अधिकारीले एकपटक पनि जिल्लाको कमाण्ड सम्हाल्ने अवसर पाएका छैनन् ।

अत्यावश्यक अवस्थामा मात्र काज सरुवा गरिन्छ । तर, नियमित सरुवा रोकेर काज सरुवाले संगठनभित्र बढ्दै गएको बेथिति देखाउने प्रहरी अधिकारीहरु बताउँछन् । सरुवामा बदनामहरुले अवसर पाउनुले प्रहरीमा झन् भ्रष्टाचार बढ्ने जोखिम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्