काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।
बिहिबार साँझ एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा पत्नी आर्जु राणासहित ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
गठबन्धन बैठकअघि अध्यक्ष ओलीलाई नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पनि भेटेका थिए ।
बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधामन्त्री देउवाले भोलि बस्ने प्रतिनिधिसभाका बैठकमा एमसीसी सम्झौता जसरी पनि पेश गर्ने बताएका थिए ।
तर, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने अडान लिएपछि सहमति हुन सकेन ।
बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरीसकेको छ ।