अघिल्लो निर्वाचनताका देशभित्र एउटा छुट्टै ताउलिमा आशायुक्त खिर पाक्दै थियो । वर्षौँदेखि नेताहरुको आश्वासन खाएर भोकै बसेका यो देशका ख्याउटे अनुहारहरु थोरै भए पनि उत्साहित देखिन्थे । पेटभरि नै नपाए पनि सुशासनको भोकले आक्रान्त सारंगी पेटले केही जाउलो त पक्कै पाउनेछ भन्ने आशा राखेका थिए ।
देशका ठूला भनिएका कम्युनिष्ट पार्टीहरु एकै थलोमा उभिएर समृद्ध नेपाल, सुखी नेपालीको समाजवादी पेँडा बाँडिरहेका थिए । झण्डै पानी बाराबारको स्थितिमा रहेका दुई ठूला कम्युनिष्ट पार्टीहरु सबैलाई चक्मा दिँदै एकाएक कुन महायज्ञको पञ्चामृत पिएर त्यो विन्दुमा पुगे भन्ने कुरा अझै रहस्यमय नै छ ।
जेहोस्, पहिले चुनावी तालमेल र पछि पार्टी एकता गर्दै देशलाई अग्रगामी मार्गमा लैजाने उनीहरुले संकल्प चानचुने थिएन । पटक–पटक धोखा खाएर अमन परेका नेपाली जनताले यसपटकचाहिँ पक्कै केही गर्छन् भन्ने विश्वासले निर्वाचनमा झण्डै दुईतिहाइ बढी मत दिएर सत्तामा पठाए ।
धुर्त राजनीतिक दल, लाचार सरकार, स्वार्थी नेतृत्व र बतासे हामी जनताकै कारण देश दिनप्रतिदिन संकटको भुमरीमा फस्दैछ भन्ने कुरा अझै पनि कसले र कहिले बुझिदिने ?
सत्तामा गएर जब केही गरी देखाउने पालो आयो, तब दुईतिहाइको खोला उल्टो बग्न थाल्यो । अंगुर भनेर रोपेका लहरामा अनायास ऐजेरु फल्न थाले । यिनै अनुहारले सुन्तला भनेर लगाएको बोटमा लटरम्मै काउसोका कोसाहरु लागे । ओखरका घाँजी फुटाउँदा बिच्छीहरु निस्कन थाले । कुखुराका खोरबाट स्यालहरु बास्न थाले र यो देशलाई फेरि पनि आफ्नै लयमा कोपर्न थाले ।
फेरि पनि निर्वाचन नजिकिँदै छ, निर्वाचित हुने र हिँड्ने बाटो त्यही हो । अब अर्को कुनै जुक्ति लगाउने छन् र पुनश्चः मातृभूमिलाई चिथोर्न अग्रसर हुनेछन् ।
नेपालका कम्युनिष्ट नामधारी पार्टीहरु फुटेर धुलो पनि नहुने र जुटेर ठूलो पनि नहुने चलिआएकै रीतजस्तो बनेको छ । विशेषत यिनीहरुको सिद्धान्तमा आएको भिन्नताले भन्दा बिलो नपुगेको असन्तुष्टिमा टुक्रिने गरेका उदाहरण प्रशस्तै छन् ।
समाज परिवर्तनका निकै ठुल्ठूला गगनभेदी नारा लगाउने कम्युनिष्ट पार्टीहरुलाई आफूभित्रकै स–साना संकीर्णताको डढेलोले सिध्याउने गरेको छ । नयाँ जोगीले धेरै खरानी घसेजस्तै उदाउँदा अलि बढी नै क्रान्तिकारी भएर जन्मन्छन् । अनि ढिलोचाँडो उही ‘प्रतिक्रियावादी कित्ताको शेयरधनी’ बन्नका खातिर लडामती गर्दै आफँै नासिन्छन् ।
‘कम्युनिष्टहरू बिग्रिए भने अलि बढ्ता गन्हाउँछन्’ भनिए झैँ उनीहरुको छेउछाउ जानै नसकिने गरी दुर्गन्धित बन्दा रहेछन् । व्यक्तिवाद र अहंकारको अत्तर छर्किएर सिंगो समाजलाई खपिनसक्नु बनाउँदा रहेछन् ।
विगतका क्रान्तिकारी कमरेडहरुका काठमाडौंका चोकचोकमा महल ठडिए । देशकै औंलामा गनिएका शहरहरुमा प्लटिङ गरिएका घडेरीहरु छन् । देशकै ठूला–ठूला आयोजनाहरुमा शेयर लगानी छ । करोडौंको गाडीमा हुँइकिएकै छ । कोही श्रीमतीका नाममा त केही विदेशी बैंकहरुमा धन थुपारिएकै छ । छोराछोरीहरु विदेशी कलेजमा भर्ना छन् । अनि ‘निजी सम्पत्तिका मालिकहरु कम्युनिष्ट हुँदैन’ भन्ने युक्ति पनि यिनकै मुखारविन्दबाट सुन्नुपरेको छ । विदेशीलाई यो देशको गरिबी बेचेर अथाह धनराशि थुपारेका यस्ता कम्युनिष्ट नामधारी व्यापारीहरु टोलैपिच्छे पार्टी नामको पसल खोलेर देश लुटिरहेका छन् ।
भन्ने बेलामा ‘जनताद्वारा, जनताले, जनतालाई भन्ने र गुट्मुट्याउने बेलामा सर्वस्व आफैँ कुम्ल्याउने’ यिनीहरुको पेशा नै सिद्धान्त बनेको छ । कार्लमाक्र्सदेखि माओत्सेतुङसम्मको नाम भजाएर खोलिएका यी खुद्रा पसलहरुले मुठ्ठीभर मान्छेहरुलाई त साम्यवाद नै आएको आभाष दिएका छन् ।
‘वर्षौंदेखि राणा, पञ्चे र राजाहरुले देश लुटे’ भन्दै व्यवस्था बदल्न शहर छिरेकाहरु आफैँ स्वयं बदलिएका छन् । हज्जारौं निर्धा जनताका छोराछोरीको बलिदानबाट प्राप्त लोकतन्त्रलाई निर्वाचित हुने, महंगो गाडी चढ्ने, टाइसुट लाउने र भ्रष्टाचारको खाडलमा आहाल खेल्ने गिरोहहरूको भीडतन्त्र बनाइदिएका छन् ।
उतिबेला यिनीहरुले मुख्य शत्रुको रुपमा चित्रण गर्ने घरेलु सामन्तवादको पगरी आज आफैँले पहिरिएका छन् । विस्तारवाद र साम्राज्यवादले यिनीहरुको तरिका पारेरै भरणपोषण गरिरहेको छ । हिजो आफूले नखाएरै भए पनि यिनलाई गुन्द्रुक–ढिँडो खुवाएर स्याहार गर्ने गरिब वर्ग आज यिनीहरुको टाउको दुखाइको विषय बनेका छन् ।
युद्धकालमा यिनीहरुले सेल्टर लिने विकट गाउँका स्याउले झुपडीहरु अचेल अप्ठ्यारोमा उठेको पिलोसरह भएका छन् । अचेल यिनीहरुको असल दोस्ती त बरु एनजिओ–आइएनजिओसँग जमेको छ । दलाल र घुस्याहा यिनीहरुका सहपाठी बनेका छन् । सुकिला–मुकिलाहरुलाई स्नेही मित्र मानेका छन् । राज्यसत्ताको दृष्टिबाट सधैँ ओझेल परेका सुदूरका गाउँहरुलाई यिनले अचेल भोटबैंक मात्रै ठानेका छन् ।
र, यतिबेला देशको माटोमा क्रूर दुश्चक्र नचाएर यिनीहरुले एउटा शाश्वत युगको घाँटी निमोठ्न खोजेका छन् । कतै दूरमा बसेर घिन्ताङ–घिन्ताङ समृद्धिको मादल ठोक्दै स्वाभिमानमाथि धावा बोल्न आँटेका छन् ।
सामन्त गोयललाई भान्सामा लगेर देश खुवाउनेहरु नै आज राष्ट्रियताबारे बढ्ता चिन्तित भएको अभिनय गर्दैछन् । एमसीसी नामक फण्डाको झण्डा ओढेर उसैको विरोध जनाउ गरेझैँ नाटक मञ्चन गर्दै अर्कैलाई छिर्के हानिरहेका छन् ।
स्वतन्त्रता लिलाम गर्नेहरूले पराधिनताको विरोध गरेको अभिनय गर्नु एउटा भद्दा मजाक मात्रै हो । आफ्नो स्वतन्त्रता आफैँ लिलाम गर्नेहरूले समाज परिवर्तन र समृद्धिको गफ हाँक्नु मनोगत ठट्टा हो । सिधैँभन्दा यो दोहोरो एवं लाजमर्दो चरित्र हो । धुर्त राजनीतिक दल, लाचार सरकार, स्वार्थी नेतृत्व र बतासे हामी जनताकै कारण देश दिनप्रतिदिन संकटको भुमरीमा फस्दैछ भन्ने कुरा अझै पनि कसले र कहिले बुझिदिने ?
-लमही दाङ