काठमाडौं । सरकारका प्रवक्त एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताएका छन् । आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने निर्णय भएसँगै आजै टेबल हुने सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।
बैठकपछि सञ्चारमन्त्री कार्कीले पत्रकारहरुसँग भने, ‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ ।’ यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहँदै आएको थियो ।
यसैबीच गठबन्धनमा सहमति जुटेसँगै प्रतिनिधिसभा बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबलको प्रस्तावसहित कानुनमन्त्री दिलेन्द्र बडू बैठकमा पुगेका छन् । बैठक बानेश्वरस्थित संसद भवनको शंकर हलमा केहीबेर सुरु हुँदैछ ।