काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौतामा आफूहरुको समर्थन नरहेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले सरकार जेसुकै भएपनि आफूहरुले एमसीसीलाई समर्थन गर्न नसक्ने बताए ।
एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौता संसदमा जबरजस्ती ढंगले ल्याइएको बताए । उनले भने, ‘नेपाल ट्रयापमा परेको छ । भोलिका दिनमा अझ समस्या थपिने निश्चित छ ।’
शनिबार काठमाडौंमा बसेको स्थायी कमिटीको बैठकले एमसीसी टेबल गर्न नरोक्ने तर यथास्थितिमा संसद्बाट अनुमोदन भने गर्न नहुने निर्णय गरेको थियो । एमसीसी संसद्मा टेबल गरेपनि केही बुँदा संशोधन गरेर मात्रै अनुमोदन गर्नुपर्ने एकीकृत समाजवादीले माग गर्दै आएको छ ।