काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३४औँ वर्ष पूरा गरी ३५औँ वर्षमा प्रवेश गरेको छ । नेशनल लाइफले विगत वर्षजस्तै चालु वर्षमा राम्रो व्यावसायिक प्रगति हासिल गरेको छ ।
कम्पनीले यही आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा राखेको छ ।
कम्पनीको जीवन बिमा कोषमा ५० अर्बको हाराहरीमा रकम जम्मा भएको छ भने कम्पनीले चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्ने जनाएको छ ।
कम्पनीले यस आवका लागि बीमितलाई न्यूनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म दिएको जनाएको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रियासमेत अघि बढाएको छ ।
यस्तै कम्पनीले आफ्नो ३५औँ वार्षिकोत्सवमा केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गर्नुका साथै देशभरमा ३४ वटा वृद्धाश्रमहरुमा खाना खुवाउने कार्यक्रम गरेको थियो ।