काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा गम्भीर सुरक्षा लापरबाही देखिएको छ । एक युवक विमानस्थलको तीन तहको सुरक्षा घेरा तोडेर विमानसम्म पुगेका छन् ।
रौतहटका हस्पम आलम सोमबार बेलुका दोहा उड्न लागेको नेपाल एयरलाइन्सको जहाजसम्म पुगेका हुन् । उनी सिनामंगलतर्फबाट छिरेर त्यसरी विमानसम्म पुगेका हुन् । बिजनेश क्लासमा पुगेका उनीमाथि शंका लागेर सोधपुछ गर्दा टिकट र पासपोर्ट केही थिएन । त्यसपछि हल्लीखल्ली मच्चिएको थियो ।
यो घटनामा सेना र प्रहरी दुवैको कमजोरी देखिएको छ । विमानस्थलको बाहिरी कम्पाउन्डको सुरक्षा जिम्मेवारी सेनालाई छ । त्यसपछि रनवेको सुरक्षा प्रहरीले हेर्छ । जसकारण दुवैको कमजोरी देखिएको स्रोत बताउँछ ।
त्यसरी विमानसम्म पुग्ने युवक मानसिक रोगी भएको खुलेको छ, उनलाई गौशला प्रहरीको थुनामा राखिएको छ । ‘यदी कोही अपराधिक योजनाले विमानसम्म पुगेको भए के हुन्थ्यो ?’ विमानस्थलका एक उच्च अधिकारीले बताए । ती युवक यसअघि पनि रनवेसम्म पुगेको खुलेको छ ।