काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् । युक्रेनको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ ।
जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ ।
भिडिओ सन्देशमा राष्ट्रपति जेलेन्सकीले रुसी आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूले ज्यान गुमाएको बताएका बीबीसीले उल्लेख गरेको छ ।
रुसी आक्रमणको पहिलो दिन हजारौँ युक्रेनी नागरिकले घर छाडेर सुरक्षित स्थानमा पुगेका छन् । रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किएभमा कैयौँ सर्वसाधारणहरू मेट्रो स्टेसनमा पुगेका छन् जसलाई बम हमलाबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि खुला राखिएको बीबीसीले जनाएको छ ।
यकिन संख्या स्पष्ट भई नसकेको भए पनि अमेरिकाका लागि युक्रेनका राजदूतले धेरै सर्वसाधारण मारिएको बताएका छन् ।
पूर्वी युक्रेनस्थित हार्कीभ सहरको स्थानीय प्रशासनले २६ जना सर्वसाधारण घाइते भएको बताएका छन् ।
आक्रमण फैलिँदै गएको अवस्थामा युक्रेनका छिमेकी राष्ट्रहरूले ठूलो सङ्ख्यामा आफ्नो देशमा शरणार्थीहरूलाई स्थान उपलब्ध गराउने तयारी थालेका छन् ।