Logo
Logo

युक्रेनको राजधानी किएभमा लगातार बमबारी, रुसी फौजद्वारा एउटा टापु कब्जा


3.4k
Shares

काठमाडौं । रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमा पर्ने एउटा टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको छ ।

युद्धपोतबाट रुसी पक्षले आत्मसमर्पण गर्न भनेपछि स्नेक आइल्यान्डमा रहेका सीमा सुरक्षा गार्डहरूले सानो स्तरमा र अवज्ञाकारी सन्देशमार्फत् प्रतिवाद गरेको युक्रेनी आन्तरिक मामिला मन्त्रालयले जनाएको बिबिसीले उल्लेख गरेको छ ।

AP/Photo

त्यसपछि रुसी पक्षले गरेको बमबारीमा युक्रेनी सीमामा परिचालित १३ सुरक्षाकर्मीको ज्यान गएको छ । उनीहरुलाई ‘युक्रेनका नायक’का रूपमा सम्मानित गरिने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

यसैबीच ब्ल्याक सी तटबाट बाटो बनाउँदै अघि बढेको रुसी सेनाको राजधानी किएभलाई घेरा हाल्ने रणनीति बनाएको युक्रेनी सेनाले जनाएको छ ।

किएभदेखि १५ किलोमिटर उत्तरमा अवस्थित एउटा विमानस्थललाई नियन्त्रण गर्न विमानमार्फत् पुगेका रुसी सैनिकहरूमाथि युक्रेनी सेनाले प्रत्याक्रमण गरेको छ । क्राइमियाबाट उत्तरतर्फ लागेको रुसी फौजका लश्कर तीव्र गतिमा अगाडि बढिरहेका बिबिसीलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

युक्रेनको पूर्वी सीमामा पनि लडाइँ चर्किरहेको छ । सुमी नगरमा रातभरि भीषण भिडन्त भएको छ । स्थानीय अधिकारीहरूका अनुसार कोनोटोप सहरलाई घेरा हालिएको छ र रुसी फौज किएभको पश्चिमतर्फ बढिरहेको छ । युक्रेनी सेनाका अनुसार रुसी सेनाका ६० वटा रणनीतिक डफ्फा युक्रेनभित्र छिरिसकेका छन् ।

रुसी सेनाका दर्जनौँ ट्यांकका साथै हेलिकप्टर तथा लडाकु विमानहरू ध्वस्त पारिएको युक्रेनी सेनाले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्