काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहक वर्गलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा २०७८ फागुन १२ देखि काठमाडौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले टेकु शाखा र सञ्चालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका सञ्चालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीको उपस्थिति रहेको थियो । टेकु र पेप्सीकोलामा थप दुई शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २५ पुगेको छ ।
देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १२८ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २५ शाखारहित बैंकिङ र १०७ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।