Logo
Logo

राष्ट्रघातको तक्मा पहिरिन हतारो


1.6k
Shares

साहस र शक्ति एक प्रकारको आगो हो । त्यो चुल्होमा बले खाना पाक्छ । मनमा जले मस्तिष्क थाक्छ । र, यो पनि जानौं कि– छानोमा सल्किए त्यही आगोले बस्ती नास्छ ।

यतिखेर मुलुक एउटा त्यस्तै उम्लिँदो शक्ति उन्मादको भूमरीमा गाँजिएको छ । अगाडि छिड्कएको एमसीसी र नेपथ्यमा झल्किएको ५५ अर्बको रसिलो धुनमा राज्यव्यवस्था लठ्ठिएको छ ।

कम्युनिष्ट भन्नेहरुको मति नबिग्रिएको भए कांग्रेस फेरि पुरानै लयमा फर्किने थिएन । आफ्नो निधारमा लागेको राष्ट्रघातको टीका पखाल्ने भरपुर अवसरको बेवास्ता गर्दै कांग्रेस राष्ट्रघातको अर्को ताज पहिरिन हतारो गरिरहेको छ ।

यदि, जनअपेक्षामाथि कुठाराघात गर्दै यही अवस्थामा एमसीसी पारित गरिएमा राष्ट्रघात र कांग्रेस पर्यायवाची शब्द बन्ने पक्का छ ।

शक्ति उन्मादको धुरीमा उक्लिएर पालीमुनि आगो झोस्दा केपी ओली कहाँ पुगे ? भन्ने कुरो देउवाले यति चाँडै बिर्सनु स्वयं उनकै लागि दुर्भाग्यपूर्ण हुनेछ । यो समय आम जनताका तमाम समस्यासँग जोडिने बेला हो । ओलीबाट धोका भयो भनेर न देउवालाई त्यहाँ पुर्याइएको हो, न वैदेशिक शक्तिकेन्द्रको रणमैदान बनाउन यो गठबन्धन बनेको हो ।

‘जोगी हुन कसले राजनीति गर्छ ?’ भन्ने हाम्रा दल र नेताहरुको मस्तिष्कमा ‘कमाउ अनि राज गर’को सिद्धान्तले गहिरो जग बनाएको छ । रन्थनिएको नेपाली राजनीतिभित्र दुई थान मन्त्रीको आशमा देशको जुवा खेल्न तयार हुनेहरू बग्रेल्ती छन् । पुरातनको रखैल बनेका नेताहरु आफ्नो लुटको स्वर्गमा पहिरो जाने त्रासले विचार र चेतनाका दियालोहरू निभाउन मरिहत्ते गर्छन् ।

विकास र निकासका बारेमा गहन छलफल गर्नुपर्ने ठाउँमा वैदेशिक हस्तक्षेपलाई भित्र्याउन तछाडमछाड गर्छन् । नवप्रवेशी नेताहरु आम जनतालाई अकर्मण्यताको जन्जिरले बाँधेर आफू उन्मुक्त आकाशमा कावा खाँदै सम्पन्नताको चुलीमा पुग्न चाहन्छन् । ज्ञान र विज्ञानका सर्वमान्य सिद्धान्तहरूको मुण्डन गरी कार्यकर्तालाई दासताको भाषा बोल्न सिकाउँछन् ।

हाम्रा नेताहरुकै शुद्धी भाँचिएपछि नेपालको समस्यालाई लिएर अहिले दुई ठूला शक्ति राष्ट्रहरुबीच वाकयुद्ध सुरु भएको छ । यसले सही संकेत गरेको छैन । अमेरिकी राजदूतावासको धम्कीयुक्त विज्ञप्ति र त्यसमा आएको चिनियाँ जवाफले अकर्मण्यतामा रुमलिएको नेपाली राजनीतिलाई गिजोलेको मात्रै छैन, अझै खतरापूर्ण भविष्यतर्फ डोर्याइरहेको छ ।

आशा गरौं एमसीसी पारित गराउने कूटनीतिक धम्की– देशै डडाउने डढेलोको झिल्को नबनोस् । यो सम्भावित खतराको निम्ति सबभन्दा बढी नेपालका टाठाबाठा ठहरिने वैदेशिक दलालहरु जिम्मेवार छन् । विदेशीको नुन खाएर देशलाई क्रिडास्थल बनाउन मरिहत्ते गर्नेहरुले यसको असीमित मूल्य चुकाउनु पर्नेछ ।

अघिपछि राष्ट्रियताबारे बेमौसमी बाजा बजाउनेहरु दिनदहाडै विदेशीले हप्काइरहँदा ‘हाम्रो घरको समस्या हामी आफैँ सुझाउन सक्षम छौँ’ भन्नसमेत सक्दैनन् । त्यो पनि विदेशीले भन्नुपर्ने लाजमर्दो अवस्था छ । हाल द्वन्द्व अन्तर्राष्ट्रियकरण भएको खण्डमा कतिसम्म खतरनाक परिणाम निस्कन सक्छ भन्नेबारेमा अति थोरै नेपालीले मात्र महसुस गरेका होलान् ।

हुन त नेपालमा सत्ता बाहिर हुँदा क्रान्तिकारी बन्ने कम्युनिष्टहरुको पुरानै रोग हो । त्यतिबेला जनताको भोक र शोकमा चासो राखिन्छ । त्यतिले पुगेन भने राष्ट्रवादी टायर पोलिन्छ । अझै भएन भने संसद्मा उपद्रो मच्चाइन्छ । भए फकाएर नभए थर्काएरै भए पनि देशको माटो र आँठोको धक्कु लगाइन्छ । जेहोस् बार्दलीमा छटपटी उग्र छ । सत्ताको खडेरीले डढेर टाँँट पल्टिएको मस्तिष्कमा भष्मै राष्ट्रवाद रसाउँछ । जुन कुरा ४२ महिनासम्म नदेखेका हामीले अचेल दैनिक संसद् भवनमा देखिरहेका छौँ ।

तर, त्यही कुरा सत्तामा पुगेपछि विपरीत बनिदिन्छ । पारा चढेजस्तै व्यवहार प्रस्तुत हुन्छ । आफूबिनाको दुनियाँ त औंशीको कालरात्रि नै हो जस्तो शक्तिको बत्ती बालिन्छ । सनक र दनकको भरमा राज्यसत्ता चल्दैन । राज्य उद्दण्ड बन्दै गए जनता न्यायका लागि आगो ओकल्न सक्छन् ! उन्मत्त भएर बेलगाम दौडिने शासकहरुको गर्धन अँठ्याएर उछिट्याइदिने शक्ति हुन्छ जनतासँग । यो कुरामा मै हुँ भन्ने शासकहरुले सधैं ध्यान पुर्याउन जरुरी छ ।

आफ्नो देश दुखाएर विदेशीलाई खुशी बनाउन चाहनेहरुले नेपालमा किन राजनीति गर्नु ? बरु कुम्लो बोकेर उतै गए देशलाई हाइसञ्चो हुन्छ । कहिले भारत रिसाउँला त कहिले अमेरिका र चीन रिसाउँला भन्ने अस्त्र फ्याँकेर आफ्नै रोटी सेक्नेहरुले आम जनशक्तिको अवमूल्यन गर्नु निकै महंगो पर्न जानेछ । युगौंदेखि देशलाई अक्करे भिरमा राखेर आफ्नै दुनो सोझ्याउन जोरजुलम गर्नेहरुले धाक लडाउने दिन अब रहेनन् ।

परिवर्तित युगसँगै जनता पनि सचेत र जागरुक बनिसकेका छन् । यतिखेर राष्ट्रिय स्वाधिनतालाई लिलाम गर्न उद्यत्त दलालहरूको निदहराम भएको छ । यदाकदा बुद्धि नभएका केही जोर बुद्धिजीवीहरुले उनीहरुको बचाउमा रित्ता थाल ठटाए पनि यता देशप्रेमको उन्नत चेतनाले जनता ब्युँझिएका छन् ।

यदि सशक्त र एकीकृत भएर जनद्रोहीहरूको विरुद्ध जनता अघि बढे भने त्यो आँधीबेहेरीले राष्ट्रघाती सँगसँगै उनका सुसारेहरुलाई पनि सर्लक्कै बगाउने कुरा निश्चित छ ।
– लमही दाङ

प्रतिक्रिया दिनुहोस्